पर्सा । नेपाली कांग्रेस ठोरीले आगलागी पीडित जीतबहादुर विकको परिवारलाई राहत सहयोग गरेको छ । नेपाली कांग्रेस मधेश प्रदेशका महामन्त्री एवं नेपाली कांग्रेसका तर्फबाट ठोरी गाउँपालिकाका अध्यक्षका उम्मेद्वार वृहस्पतिकृष्ण श्रेष्ठले राहत सामग्री विकको परिवारलाई हस्तान्तरण गरेका हुन् ।
श्रेष्ठले चामाल, दाल, तेल, नुन लगायतका खाद्य सामग्री पीडित परिवारलाई हस्तान्तरण गरेका हुन् । राहत सामग्री हस्तान्तरण गर्दै श्रेष्ठले पीडित परिवारलाई बस्नका लागि घर बनाउन सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । नेता श्रेष्ठले पीडित परिवारलाई तत्कालका लागि खाद्यान्न लगायत लत्ताकपडाको आवश्यक पर्ने भएको भन्दै बस्नका लागि घर बनाउने योजना आफूहरुको रहेको बताए ।
राहत वितरण कार्यक्रममा नेपाली कांग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठले आगलागी पीडितहरुलाई ठोरी गाउँपालिकाका विभिन्न वडाका आगलागी पीडित संग अत्यन्त नजिक भएको र घर बनाउने कार्यमा आफूहरुले सहयोग गर्दै आइरहेको भन्दै उनले विकको परिवारलाई पनि सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे ।
राहत वितरण कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिेधी रामबहादुर श्रेष्ठ, क्षेत्रीय सदस्य कुल बहादुर श्रेष्ठ, नेका ठोरी गापा सदस्य सनम श्रेष्ठ, प्रताप पाख्रीन, नेपाली कांग्रेस वडा नम्बर १ का वडाध्यक्षका उम्मेदवार नवराज फुयाँल लगायतको सहभागिता रहेको थियो । ठोरी गाउँपालिका १ सरस्वती नगर फायरलाइनमा बिहीबार दिउँसो आगलागी हुँदा विकको घर र भान्साघर जलेर पूर्णरुपमा नष्ट भएको थियो । आगलागीबाट १५ लाख रुपैयाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको थियो ।
वीरगञ्ज र पोखरीयाबाट आएको वारुणयन्त्रको सहयोगमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना एवं स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।