गोली प्रहार गरेर मारिएको अवस्थामा ६ चैतमा बाराको कोल्हवी नगरपालिका– २ मा रहेको तामागढी सामुदायिक वनमा फेला परेको पाटेबाघ । पर्सा निकुञ्ज र आसपासका जंगलमा एक वर्षमा आठवटा बाघ मरेका छन्, जसमध्ये चार बाघको सिकार भएको छ । सात वर्षअघि यस क्षेत्रमा तीनवटा बाघ मात्र रहेकामा ०७९ मा गणना गर्दा ४१ वयस्क बाघ पुगेका छन् । जसकारण बाघ पनि सामुदायिक वन र बस्ती पस्न थालेका छन् । एक वर्षमा बाघको आक्रमणमा परी तीनजनाको मृत्यु भएको छ ।
बारा र पर्सा जिल्लामा फैलिएको पर्सा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या थपिएसँगै मानव र वन्यजन्तुबीच द्वन्द्व पनि बढेको छ । मानव र वन्यजन्तुबीच द्वन्द्वका कारण स्थानीयले बाघलाई मासुमा विष हालेर दिनेदेखि गोली प्रहारसम्म गरेको पाइएको छ ।
पछिल्लो एक वर्षमा आठवटा बाघ मरेका छन्, जसमध्ये चार बाघको सिकार गरेको अनुमान निकुञ्ज प्रशासनले गरेको छ । दुई–दुई बाघको मृत्युको कारण भने प्राकृतिक (बुढो भएर) र उपचारका क्रममा मृत्यु भएको हो । मारिएका अनुमान गरिएका चारवटा बाघको भने राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको रिपोर्ट कुरेर बसेको पर्सा निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जनाए । यही अवधिमा बाघको आक्रमणमा परी तीनजनाको मृत्यु भएको छ ।
सात वर्षअघि यस क्षेत्रमा तीनवटा बाघ मात्र रहेकामा ०७९ मा गणना गर्दा ४१ वयस्क बाघ पुगेका थिए । बाघको संख्या बढेसँगै वासस्थान अभाव हुँदा बाघ आफैँ जुधेर घाइते हुने र घाइते बाघले मानव बस्तीमा पसेर जनधनको क्षति पुर्याउन थालेका छन् ।
एक्लै हिँडडुल गर्न र काममा निस्कन सक्ने वातावरण छैन : सुरथ पुरी, मेयर, निजगढ नगरपालिका
वन्यजन्तुले आसपासका बस्तीमा पटकपटक क्षति गर्दा पनि निकुञ्जले बस्ती जोगाउन दीर्घकालीन योजना अघि सारेको छैन । कति वेला बाघ बस्तीमा आउँछ थाहा हुँदैन । बाघ कति वेला आउँछ भन्ने डरले स्थानीयका दैनिक कामकाजसमेत प्रभावित भएको छ । एक्लै हिँडडुल गर्न र काममा निस्कन सक्ने वातावरण छैन । निकुञ्ज प्रशासनले केही गर्न सकेको छैन ।
गोली प्रहार गरेर मारिएको अवस्थामा ६ चैतमा बाराको कोल्हवी नगरपालिका– २ स्थित तामागढी सामुदायिक वनमा पाटेबाघ फेला पर्यो । बाघको टाउकोमा गोली हानेर मारेको प्रारम्भिक अनुसन्धानमा देखिएको डिभिजन वन कार्यालय सिमरा बाराका सूचना अधिकारी जवाहरलालप्रसाद कुर्मीले बताए ।
फागुनमा मात्र चार बाघ मृत फेला परेका छन् । १४ फागुनमा ठोरी गाँउपालिकाको मध्यवर्ती क्षेत्रमा १२ वर्षको तथा १६ र १९ फागुनमा डिभिजन वन कार्यालय पर्साको जंगलको सखुवा पर्सौनीमा ९–१० वर्षका दुई बाघ मृत भेटिए । २२ फागुनमा निजगढ नगरपालिका–४ स्थित कछडिया सामुदायिक वनमा पाटेबाघ मरेको अवस्थामा फेला परेको थियो ।
गत १ वैशाखमा पर्साको पर्टर्वा सुगौलीको मध्यवर्ती क्षेत्रमा सात वर्षको बाघ मृत फेला परेको थियो भने त्यसपछि ४ असारमा सोही स्थानमा दुई वर्षको अर्को बाघ मारिएको अवस्थामा भेटिएको थियो । भदौमा पुनः पर्साको ठोरी गाउँपालिकामा १०–१२ वर्षको बाघ मृत भेटिएको थियो ।
बाघको आक्रमण बढ्यो
वैशाखयता मात्रै बाघको आक्रमणबाट निकुञ्ज र निकुञ्जसँगै रहेको वन क्षेत्रमा तीनजनाको मृत्यु भएको छ ।
५ चैतमा बाघको आक्रमणबाट ठोरी गाउँपालिका–४ मालीबस्तीकी ४० वर्षीया कलावती सुवेदीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । उनका अनुसार मालबस्ती गाउँ नजिकैको जंगलछेउमा घाँस काट्न गएका वेला जंगलबाट आएको बाघले आक्रमण गर्दा सुवेदीको मृत्यु भएको हो ।
केही महिनाअघि बाघको आक्रमणमा परी पटेर्वा सुगौली गाउँपालिका–२ थरकटीका ३२ वर्षीय मनोज उराँव धाँगडको मृत्यु भएको थियो । घरनजिकै जंगलमा शौच गर्न गएका धाँगड बेपत्ता भएका थिए । उनको खोजतलास गर्ने क्रममा टाउको र खुट्टा नभएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केशरीले जानकारी दिए । १३ भदौमा पर्साको ठोरी गाउँपालिका–५ आठघरेका ५२ वर्षीय कान्छालाल डोङको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट मृत्यु भएको थियो ।
बाघको आक्रमणबाट एक वर्षमै एक दर्जन स्थानीय घाइते भएका छन् । निकुञ्ज नजिकै रहेको निजगढ–११ स्थित तपोभुमी सामुदायिक वनमा चौपाया चराउन गएकी स्थानीय ४० वर्षीय दिलकुमारी पुलामी मगरलाई ६ चैतमा बाघले आक्रमण गरी घाइते बनायो । बाघले आक्रमणबाट भूँइमा लडेकी उनलाई सँगै चौपाया चराउन गएका भोगबहादुर मुक्तानसहितले जोगाकाएका थिए । बाघको आक्रमणमा घाइते मगरको निजगढ सामुदायिक अस्पतालमा उपचार भएको छ ।
एक महिना अघि निकुञ्जबाट निस्केको पाटेबाघको आक्रमणबाट रौतहट बौधीमाई नगरपालिका दुई जना घाइते भएका थिए । बाघको आक्रमणबाट मटेर्वा गाउँका ३० वर्षीय कृष्णसाह बनिया र ३५ वर्षीय राजुसाह बनिया घाइते भएका हुन् । डिभिजन वन कार्यालय हेटौँडा, पर्सा, बारा लागायत क्षेत्रमा वैशाख यता बाघको आक्रमणबाट करिब एक दर्जन बढी मानिस घाइते भएका छन् ।
बाघले चौपाया मारेर खान थालेपछि गाउँ त्रसित
बारा र पर्सा जिल्लामा निकुञ्ज र सामुदायिक वन नजिकै रहेका बस्ती यतिवेला त्रसित भएका छन् । बाघले दिनदिनै स्थानीयले पालेको चौपाया मारेर खान थालेपछि पूरै गाउँ त्रसित भएको हो । निकुञ्जसँगै जोडिएको सामुदायिक वनमा पसेको बाघले गाई, गोरु, खसी, बाख्रा खाए पनि पर्सा राष्ट्रिय निकुञ्जले हिंसात्मक गतिविधि गर्ने बाघलाई नियन्त्रण गर्न सकेको छैन ।
निकुञ्जको मध्यवर्ती क्षेत्रका रूपमा रहेको पर्साको ठोरी, पटेर्वा सुगौली, बाराको निजगढ, कोल्हवीलगायत स्थानमा पछिल्लो समयमा मात्रै बाघले दर्जनौँ चौपाया मारिसकेको छ । बाघले चौपाया मार्ने क्रम बढेपछि स्थानीयमा त्रास बढेको हो । घर र गोठमै बाघ पसेर चौपाया मार्न थालेपछि स्थानीयमा त्रास बढेको र बाघको आक्रमण बढेपछि सर्वसाधारणले समेत असुरक्षित महसुस गर्न थालेको निजगढ नगरपालिका–११ रतनपुरीकी नयनकुमारी श्रेष्ठले बताइन् ।
बाराको निजगढ नगरपालिका– ११ रतनपुरीमा मात्रै पछिल्लो समयमा बाघले घरमै आएर र जंगलमा चरिचरणमा लगिएका करिब चार दर्जन बाख्रा मारिसकेको छ । वन्यजन्तुले आसपासका बस्तीमा पटकपटक क्षति गर्दा पनि निकुञ्जले बस्ती जोगाउन दीर्घकालीन योजना अघि नसारेको निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले बताए । बस्ती बचाउन दीर्घकालीन योजना निर्माण गर्नुपर्ने उनको भनाइ छ । ‘कति वेला बाघ बस्तीमा आउँछ थाहा हुँदैन । यस्तो अवस्थामा कसरी जोखिम कम गर्न सकिन्छ त्यसबारे उपाय अवलम्बन गर्नुपर्ने हो । तर, निकुञ्च प्रशासनले केही गर्न सकेको छैन । बाघ कतिवेला आउँछ भन्ने डरले स्थानीयका दैनिक कामकाजसमेत प्रभावित भएका छन् । एक्लै हिँडडुल गर्न र काममा निस्कन सक्ने वातावरण बनाउनुपर्छ,’ उनले भने । केही वर्षयता रतनपुरी क्षेत्रमा जंगली जनावरले किसानले पालेको चौपाया र लगाएको बाली खाएर क्षति पुर्याउँदै आएको छ ।
वन्यजन्तुको समस्या हल गर्ने प्रमुख जिम्मेवारी निकुञ्ज, आरक्ष र वन कार्यालयको भए पनि उनीहरूसँग उपलब्ध पर्याप्त स्रोत–साधन अभावले प्रभावकारी रूपमा यसको निदान गर्न सकिरहेका छैनन् ।
निकुञ्जको क्षेत्रभित्र नभएका कारण घटनाको जानकारी निकुञ्जलाई नभएको पर्सा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सन्तोषकुमार भगतले बताए । बाघले निकुञ्जको जंगलमा नभई सामुदायिक वन र जिल्ला वनको क्षेत्रमा स्थानीयलाई समस्या पारेकाले त्यो विषयमा निकुञ्जले प्राविधिक सहयोग मात्र गर्न सक्ने भगतले बताए ।
यस क्षेत्रमा जंगली जनावरले आक्रमण गरेर चौपाया मार्ने र मानवीय क्षतिको समेत जोखिम उच्च रहेकाले नियन्त्रणका लागि आवश्यक कार्य गरी पीडित किसानलाई क्षतिपूर्तिसमेत उपलब्ध हुने डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले बताए । बाघ वस्तीमा पस्नु र बाघ मारिने क्रम पनि बढ्नु मुख्य चुनौती रहेको उनको भनाइ छ । साभार : नयाँ पत्रिका