वीरगंज । जनता समाजवादी पार्टी नेपाल विभाजन भएपछि मधेस प्रदेश सरकारमा संकट आउने देखिएको छ । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारबाट एमाले र माओवादीले बाहिरिने तयारी गरेका हुन् । शीर्ष नेताको निर्देशन पर्खिरहेका दुवै दलका नेताहरू प्रदेश सरकारबाट समर्थन फिर्ता र नयाँ सरकार गठनको गृहकार्यमा लागेका छन् । मधेस सरकारलाई समर्थन दिएको माओवादी केन्द्रले निरन्तरता दिने कि नदिने भन्ने विषयमा छलफल गरिरहेको छ । माओवादी केन्द्रका प्रदेशसभा सदस्य तथा नेताहरू आन्तरिक छलफलमा जुटेका हुन् ।
माओवादी केन्द्रका एक सांसदले भने, ‘जसपा नेपाल विभाजन भएपछि यो सरकार अल्पमतमा परेको हो, जसपा केन्द्रमा पनि कमजोर भएको छ, त्यहाँ पनि रहने कि नरहने ठेगान छैन, मधेस प्रदेशमा पनि पार्टी नै विभाजन भएपछि पार्टी कमजोर भएको छ त्यो हिसाबले अब जसपाको सरकारलाई समर्थन दिने कि नदिने विषयमा छलफलमा जुटेका छौं ।’
माओवादीले भने मुख्यमन्त्रीमा नै दाबी गरेको थियो । तर केन्द्रीय गठबन्धनको निर्णयअनुसार सुरुमा जसपालाई नै नेतृत्व गर्न दिने भनिएपछि कुरा अगाडि बढेको थियो । प्रदेश सरकारको नेतृत्व गरेको जसपा नेपाल नै विभाजन भएपछि नैतिकतामा आधारमा सरकारको नेतृत्व गर्न नमिल्ने र छाड्नुपर्ने माओवादी केन्द्रका नेताहरूको दाबी छ ।
एमाले नेताहरूले पनि पार्टीमा छलफल बढाएका छन् । ‘जसपा नेपाल टुक्रिएपछि मधेश सरकारमा फेरबदल हुने सम्भावना देखिएको छ,’ एमाले मधेशको संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले भने, ‘समर्थन फिर्ता लिएपछि कुन–कुन दलको सहभागितामा र कसको नेतृत्वमा सरकार बनाउनेबारे छलफल भइरहेको छ ।’
मधेश प्रदेशमा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । यादव नेतृत्वको सरकारलाई अहिले एमाले, माओवादी, एकीकृत समाजवादी र लोसपाको समर्थन छ । एमालेका २५, माओवादीका ९, एकीकृत समाजवादीका ७ र लोसपाका ८ सांसद छन् । जसपा नेपालका १९ सांसद भए पनि विभाजनका कारण नवगठित जसपामा कति सांसद जान्छन् भन्ने टुंगो छैन । विपक्षमा रहेका कांग्रेसका २२, जनमतका ९ सांसद छन् ।