जनकपुरधाम । सहरका विभिन्न चोकचौराहामा मजदुरीको खोजीमा रहेकाहरूको भिड लाग्ने गरेको छ । त्यसरी चोक चोकमा मजदुरीको पर्खाइमा बसेकहरूमध्ये २५ प्रतिशतले काम पाउँछन् भने ७५ प्रतिशत मजदुर कामबिना घर फर्किने गर्छन् । दैनिक ज्यालादारीमा काम गर्न सहरआसपासका विभिन्न जिल्लाबाट आएका २२ देखि ६० वर्ष उमेर समूहका नागरिक रहने गरेका छन् । त्यसमा पनि कोही वैदेशिक रोजगारीबाट फर्केका छन् भने कोही भारतबाट फर्केका छन् ।
जनकपुरधाम उपमहानगरपालिकास्थित रामानन्द चोक र बाह्रबिघा जस्ता स्थानमा बिहान ७ बजेदेखि दिनको ११ बजेसम्म पनि कामका लागि कोही लिन आएनन् भने उनीहरू निराश हुँदै घर फर्किन्छन् । रामानन्द चोकमा कामको पर्खाइमा रहेका मजदुरको हुलमा बसेका महोत्तरी जिल्लास्थित औरही नगरपालिका–३, कविलासाका ५४ वर्षीय बिन्देशवर मण्डल भन्नुहुन्छ, “पाए काम गर्ने, नपाए रित्तो हात घर फर्कनु पर्छ । जे काम गर्न पनि तयार छु तर काम पाउनु प-यो । यहाँ काम पाउन भने मुस्किल हुन्छ । अधिकांश दिन रित्तै फर्किनु पर्छ ।”
सन् २०१५ मा वैदेशिक रोजगारीका व्रmममा साउदी अरेबियाबाट ५० वर्ष पुग्यो भनेर फिर्ता पठाइएका बिन्देश्वर त्यसपछि दैनिक ज्यादारीमा खटिँदै आउनुभएको छ । उहाँ भन्नुहुन्छ, “विदेशीले उमेर पुग्यो भनेर फर्कायो । यहाँ अहिलेसम्म मजदुरी गरिरहेको छु ।” उहाँ साउदी अरबमा एक लाख १० हजार तिरेर साउदी पुगेको र त्यहाँ मासिक करिब २० हजार रुपियाँ जति बचाउने गरेको स्मरण गर्नुहुन्छ । अहिले यहाँ दैनिक आठ सय रुपियाँका लागि आठ घण्टा खटिन तयार हुँदा पनि काम पाउन मुस्किल भएको दुःखेसो उहाँ व्यक्त गर्नु हुन्छ । बिन्देश्वर भन्नुहुन्छ, “सरकारले दैनिक ज्यालादारीमा खटिने मजदुरहरूलाई व्यवस्थित गर्दै सामान्य सुरक्षा र सेवासुविधाको व्यवस्था गरेको भए आज भौँतारिनु पर्दैनथ्यो होला । सरकारका अनेकौँ कार्यव्रmम पनि कागजमा मात्र हुन्छ । हामी जस्तासम्म त आइपुग्दैन ।”
बिन्देश्वर जस्ता कामको खोजीमा भौँतारिने अरू धेरै छन् । धनुषास्थित मिथिला बिहारी नगरपालिकाका ४८ वर्षीय रामशङ्कर दास सन् २००१ मा वैैदेशिक रोजगारीका लागि कतार जानुभएको थियो । १४ वर्ष कतारमा काम गरेर फर्केपछि कतारमा सिकेको सिपमा नेपालमा दैनिक ज्यालादारीमा काम गर्दै हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हातमा सिप भएपछि कहीँ पनि बेरोजगार भने बस्नु पर्दैन तर विदेशमा जस्तो नेपालमा कामको मूल्याङ्कन हुँदैन । यही काममा विदेशमा रोजगारीसँगै स्वास्थ्य बिमासमेत गरिएको हुन्थ्यो भने यहाँ त्यस्तो सुविधा केही छैन ।” उहाँ भन्नुहुन्छ, “देशमा तीन तहको सरकार छ । छ÷छ महिना नबित्दै शासन सत्ता फेरिन्छन् तर नफेरिएको मजदुहरूको जीवन हो । ”
यहाँ कामको पर्खाइमा बसेका नेपाली मजदुरलाई भारतीय ठेकेदारले पनि दैनिक ज्यालादारीमा सीमापारि लैजाने गरेका छन् । आफ्नै सवारीसाधन लिएर चोकचौराहामा कामको खोजीमा रहेका मजदुरलाई मोलमोलाइ गरेर लैजाने गरेको र काम सकिएपछि सीमा क्षेत्रसम्म छोड्ने गरेको उहाँहरू बताउनुहुन्छ ।
मजदुरको एउटै गुनासो छ, “देशमा सङ्घीयता आयो, शासनव्यवस्था फेरियो, तीन तहको सरकार बन्यो तर दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको जीवन भने उस्तै छ । न पारिश्रमिक सुनिश्चित छ, न कुनै सेवा सुविधा नै छ । काम गरे खाने हो, नगरे भोकै मर्ने हो ।” साभार : गोरखापत्र अनलाइन