बारा । निजगढ नगरपालिका र कोल्हवी नगरपालिका अन्तर्गतको बकैया खोलाको माथिल्लो र तल्लो भागमा उत्खनन रोक्न अनुगमन समितिले निर्देशन दिएको छ ।
जिल्ला समन्वय समितिले आज स्थलगत रूपमा अनुगमन गरेर खोलामा मापदण्ड विपरीत उत्खनन भएको भन्दै तत्काल रोक्न निर्देशन दिएको हो । अनुगमन समितिमा जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र साह, बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे,प्रहरी उपरीक्षक महेन्द्र खड्का, र स्थानीय पालिकाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
मापदण्ड विपरीत खोला दोहन हुँदा सरोकारवाला निकाय मौन बसेको भन्दै चौतर्फी विरोध भएपछि अनुगमन गर्न पुगेका बाराका प्रजिअ शशिधर घिमिरेले खोलामा ठुला ठुला खाडल देखिएकोले तत्कालका लागि उत्खनन रोकेको बताएका छन् । उनले नगरपालिकाको प्राविधिक टोलीले स्थलगत रूपमा हालसम्मको उत्खनन परिणाम सार्वजनिक नगरेसम्म खोला नखुल्ने बताएका छन् ।
३ फिटभन्दा गहिराइमा खन्न नपाउने सम्झौतामा व्यवस्था छ भएपनि खोलामा १० फिट गहिराइमा उत्खनन भइरहेको प्रजिअ घिमिरेको भनाई छ ।
यता जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र साहले अगामी दिनमा जीतपुर सिमरा उपमहानगर अन्तर्गतका दुधौरा, बालगंगा, पसाहा र निजगढ नगरपालिका अन्तर्गतको शक्तिखोला र भक्तलाल खोलाको पनि अनुगमन गर्ने बताएका छन् ।
जिल्लाको १६ वटा पालिकामध्ये जीतपुरसिमरा उपमहानगरले दुधौरा, बालगंगा, पसाहा, निजगढ नगरपालिका र कोल्हवी नगरपालिकाले बकैया खोलामा उत्खनन ठेक्का लगाउँदै आएका छन् ।
चालु आर्थिक वर्षका लागि जीतपुरसिमराले १० करोड ५६ लाखमा ८२ लाख ४० हजार ३७६ घनफिट, निजगढ नगरपालिकाले ८ करोड २८ लाख २९ हजारमा ७० लाख ६ हजार ६६८ घनफिट र कोल्हवी नगरपालिकाले २ करोड ९१ लाखमा २८ लाख घनफिटको उत्खनन ठेक्का लगाएका छन् ।
पालिकाहरूले लगाएको ठेक्कामा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा तोकिएको परिणामभन्दा तीन गुणा बढी उत्खनन भएको सरोकारवाला निकायहरूले जनाएका छन् ।
यसअघि कोल्हवी नगरपालिका अन्तर्गतको बकैया खोलामा एकैपटक ६ वटासम्म एस्काभेटर चलेको स्थानीयहरूबाट गुनासो आएको थियो ।
कोल्हवी नगरपालिकाका प्रमुख रामप्रसाद चौधरीले खोलामा ६ एस्काभेटर चलेको गुनासो आउनासाथ ठेकदारलाई सचेत गराएको दाबी गरेका छन् । साभार : रातोपाटी