वीरगंज । विद्यार्थी जागरण मञ्च (बिजाम) पर्साले लागु पदार्थ माग घटाउ, युवा सशक्तिकरण तथा परिचालन सम्बन्धमा पर्सेली सञ्चारकर्मीहरु सँग छलफल गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं. ८ बिजामको सभाहलमा आयोजित कार्यक्रममा बिजामका अनुगमन तथा मुल्यांकन अधिकृत तपेन्द्र साहीले नेपालमा लागु पदार्थको अवस्था, समस्याहरु, प्रयोगकर्ता र लागु पदार्थ सेवन नियन्त्रणका लागि आगामी रणनितिहरुको बारेमा प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।
साहीले एक तथ्यांकका अनुसार पर्सा जिल्लामा सुईद्धारा लागु पदार्थको प्रयोगकर्ता ३ हजार ५, बारामा ३ हजार ४ सय ३९, रौतहटमा ३ हजार ४ सय ३४, सर्लाहीमा ३ हजार ८ सय ४९, महोत्तरीमा ३ हजार १ सय ३८, धनुषामा ३ हजार ७ सय ७४, सिरहामा ३ हजार १ सय ८७ र सप्तरीमा ३ हजार १ सय ९६ रहेको बताउदै लागु पदार्थबाट खास गरी १६ वर्ष देखि ४० वर्षका युवाहरु बढी प्रभावित रहेको बताए ।
लागु पदार्थ प्रयोगकर्ता बढनुको मुख्य कारण मध्ये साथीभाईको करकाप तथा संगत, युवाहरुको उत्सुक्ता, घरायसी वातावरण, नैराश्यता, असफलता, बिछोड, झगडा, हानी नोक्सानी आदि रहेको तथ्यांकले देखाएको साहीले बताए । बिजामले लामो समय देखि एचआईभी एड्स, लागु औषध प्रयोगकर्ताहरुलाई निरुत्साहित गर्नमा काम गर्दै आएको र आउने दिनहरुमा स्थानिय प्रशासन, स्थानिय सरकार तथा स्थानिय जनप्रतिनिधिहरु सँग सहकार्य गरेर काम गर्ने लक्ष्य रहेको बिजामका कार्यक्रम अधिकृत अनोज खडकाले बताए ।
खडकाका अनुसार पर्सा जिल्लाको वीरगंज महानगरपालिका, पोखरिया नगरपालिका, पकहाँ मैनपुर र जिराभवानी गाउँपालिका र बाराको कलैया उपमहानगरपालिका सँग सम्झौता गरी लागु औषध नियन्त्रण र जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले सम्झौता भएको पालिकाहरुमा वडा स्तरिय, पालिका स्तरिय जनचेतनामुलक कार्यक्रम गरिरहेको र आउने दिनहरुमा मधेश प्रदेशभरीकै सम्पूर्ण पालिकाहरु सँग सम्झौता गरी लागु औषध नियन्त्रण गर्नका लागि प्रयास अगाडि बढाएको खडकाले बताए ।
साथै आउने दिनहरुमा पालिकाहरु सँग समन्वय गरी रिहायब सेन्टर (सुधार केन्द्र) सञ्चालन गर्ने तयारी भईरहेको समेत बताए । सो अवसरमा पर्सेली सञ्चारकर्मी र बिजामका कर्मचारीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।